बिर्तामोड– लागुऔषध दुर्व्यसनविरुद्ध विद्यार्थीमा सचेतना फैलाउने उद्देश्यले बिर्तामोड-१० स्थित महेन्द्र ज्योति माध्यमिक विद्यालयमा सोमबार जनचेतनामूलक नाटक प्रदर्शन गरिएको छ ।
बिर्तामोड नगरपालिकाको आयोजना तथा गैरसरकारी संस्था महासंघ झापाको सहयोगमा आयोजित कार्यक्रममा अभियान नाट्य समूहले लागुऔषधको कुलतले व्यक्ति, परिवार र समाजमा पार्ने असरलाई केन्द्रमा राखेर सन्देशमूलक नाटक मञ्चन गरेको हो ।
नाटकमार्फत विद्यार्थीलाई लागुऔषध सेवनका कारण हुने शारीरिक, मानसिक, सामाजिक तथा आर्थिक क्षतिबारे जानकारी गराउँदै त्यसबाट टाढा रहन प्रेरित गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले युवापुस्तालाई लागुऔषधको कुलतबाट जोगाउन विद्यालय, अभिभावक, स्थानीय समुदाय र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए ।
नगरपालिकाले लागुऔषध दुर्व्यसन नियन्त्रण तथा न्यूनीकरणका लागि निरन्तर जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । केही दिनअघि नगरपालिकाको सहयोगमा जिल्ला प्रहरी कार्यालय झापाले ‘लागुऔषधविरुद्ध झापा अभियान’ सुरु गरेको थियो ।
बिर्तामोड क्षेत्रमा लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै विद्यालय केन्द्रित सचेतनामूलक कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने नगरपालिकाको तयारी छ ।


















