बिर्तामोड- प्रदेश १-०१-००१ ख ३४२३ नम्बरको बसका कन्डक्टर झापाको शिवसताक्षी-६ का पून्यप्रसाद सिटौला पक्राउ परेका छन् । नेपाल भारत सीमाको मेचीपुल क्षेत्रबाट प्रहरीले सिटौलालाई समातेको हो ।
सोमवारराति उक्त बसको ठक्करबाट मोटरसाइकल चालक झापाको कमल गाउँपालिका-५ का ४१ वर्षीय लक्ष्मीप्रसाद सुब्बाको मृत्यु भएको थियो ।
बिर्तामोडबाट सुरुङगातर्फ जाँदै गरेको को १९ प ६२८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उक्त बस सिटौलाले चलाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पूर्व आउँदै गरेको उक्त बसले मोरङको बेलबारीमा पनि सोमबार अपराह्न एउटा मोटरसाइकललाई ठक्कर दिएको थियो ।
घटनापछि बसका चालक इलाम माई नगरपालिका-८ का सागर थुलुङ राई मोटरसाइकल पक्षसँग छलफल गर्नुपर्ने भएकाले त्यही उत्रिएका थिए ।
चालक राई बेलबारीमा बसेपछि बसका कन्डक्टर सिटौलाले बस चलाएको खुलेको हो ।















