५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

इलामबाट नयाँ प्रविधिमा आधारित अलैँची पुन: रोपण अभियान सुरु



इलाम-पूर्वी पहाडी जिल्ला इलामबाट नयाँ प्रविधिमा आधारित अलैँची पुन रोपण अभियान सुरु गरिएको छ । अलैँची विकास केन्द्र फिक्कलको प्राविधिक सहयोगमा नेपाल अलैँची व्यवसायी महासङ्घले अभियान सुरु गरेको हो ।

अलैँची व्यवसायी महासङ्घका अध्यक्ष निर्मल भट्टराईले अलैँची पुनरोपण अभियान अन्तर्गत टिस्सु कल्चर प्रविधिबाट उत्पादन गरिएका बिरुवा किसानलाई उपलब्ध गराइएको बताए । अभियान अन्तर्गत पहिलो चरणमा इलामको रोङ गाउँपालिका र देउमाई नगरपालिकामा बिरुवा रोपिएका छन् ।

देउमाईमा किसानलाई चार हजार नयाँ बिरुवा वितरण गरिएको छ । रोङमा टनेलमा नर्सरीका लागि चारसय बिरुवा रोपिएका छन् । केही समयपछि अलैँचीका ती बिरुवा किसानलाई वितरण गरिनेछ । आगामी वर्ष उक्त नर्सरीबाट चार हजार बिरुवा उत्पादन हुनेछन् ।

विभिन्न रोगको प्रकोप र वर्षौं पुराना बोटका कारण अलैँचीको उत्पादन घट्दै जाने भएकाले नयाँ प्रविधिबाट उत्पादन गरिएका बिरुवा रोप्न सुरु गरिएको नेपाल अलैँची व्यवसायी महासङ्घका कार्यकारी अधिकृत अनिल ढुङगानाले बताए ।

अलैँची विकास केन्द्रका प्रमुख राजन परियार टिस्सु कल्चर प्रविधिबाट सुरक्षित ल्यावमा तयार गरिएकाले अलैँचीका बिरुवा रोगमुक्त र बढी आम्दामी दिने किसिमका भएको बताउँछन् ।

‘अहिले तयार भएका बिरुवाले आगामी ४०–५० वर्षसम्म उत्पादन दिन सक्छन्’, केन्द्रका प्रमुख परियारले भने, ‘किसानले रोपण प्रविधि, मल र सिँचाइमा विशेष ध्यान दिनुपर्छ ।’

कोशी प्रदेश उद्योग कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. लेखराज दाहाल विभिन्न कारणले मासिँदै गएको अलैँची खेतीलाई पुन रोपण अभियानमार्फत पुनर्जीवन दिन खोजिएको बताउँछन् ।

‘कोशी प्रदेशको प्रमुख आयस्रोतका रूपमा रहेको अलैँची खेतीको विकास, विस्तार र सहज बजारीकरणका लागि मन्त्रालयले प्रभावकारी भूमिका खेल्छ’, सचिव डा. दाहालले भने ।

१९ हजार हेक्टर क्षेत्रफलमा हुँदै आएको अलैँची खेतीबाट वार्षिक रूपमा ७ देखि ८ अर्ब रुपैयाँ नेपाल भित्रिदै आएको छ । अघिल्लो वर्षभन्दा यसवर्ष मूल्य बढेकाले निराश भएका किसानको खुसी फर्किन थालेको छ ।

इलामबाट सुरु भएको अभियानलाई पूर्व मेचीदेखि पश्चिमसम्म अलैँची उत्पादन हुने जिल्लामा विस्तार गरिने महासङ्घका अध्यक्ष भट्टराईले बताए । अहिले ३६ जिल्लामा अलैँची खेती विस्तार भइसकेको छ । अलैँची खेतीमा एक लाख भन्दाबढी किसान जोडिएका छन् ।

निजी र सरकारी क्षेत्रको प्रयासमा सुरु गरिएको पुन रोपण अभियान सकारात्मक रहेको किसानहरू बताउँछन् । रोङ गाउँपालिकाका किसान सोमराज लेप्चाले भने, ‘अलैँची मासिएर किसानमा जुन नैरास्यता छाएको छ, यो अभियानले हामी धेरै उत्साहित भएका छौँ ।’ लेप्चाले इलाममा फेरि अलैँचीका बोटले थप हरियाली दिने र किसानको आम्दामी वृद्धि हुने विश्वास व्यक्त गरेका छन् ।

देउमाईका किसान धनसिंह राउत पहिलोपटक सरकारी अधिकारीसहित सरोकारवालाहरू किसानको बारीमा आइपुग्नलाई सुखद संयोगका रूपमा विश्लेषण गर्छन् । उनले रोगमुक्त र स्वस्थ नयाँ बिरुवा रोपणबाट उत्पादन वृद्धि हुने भएकाले सरकारका तर्फबाट निरन्तर प्राविधिक सहयोग पाउनुपर्ने आशा व्यक्त गरे ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार ००:००  ९ : ४९ बजे