बिर्तामोड-कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आमसञ्चार माध्यम व्यवस्थापनका लागि बनेको ऐनको मस्यौदामाथि छलफल सुरु गरेको छ ।
ऐनलाई आम सञ्चार मैत्री बनाउने गरी जिल्ला तहमा सरोकारवालासँग छलफल सुरु गरिएको मन्त्रालयका निमित्त सचिव कमलबहादुर थापाले बताए ।
कोशी प्रदेश प्रादेशिक सञ्चार र प्रतिष्ठानको अवधारणासहित मन्त्रालयले ऐनको मस्यौदा तयार पारेको हो । मस्यौदाका विषयमा मन्त्रालयले सोमबार झापाका सञ्चारकर्मीसँग छलफल गरेको छ ।
प्रदेशभित्र रहेका आमसञ्चार माध्यमको दर्ता र नवीकरणको कार्यलाई सहज बनाउनुका साथै सञ्चारमाध्यमको प्रभावकारी नियमनका लागि समेत प्रतिष्ठानले काम गर्ने निमित्त सचिव थापाले बताए ।
मन्त्रालयका उपसचिव विश्वदीप बेस्राले विधेयकको मस्यौदाका प्रावधानका विषयमा सञ्चारकर्मीलाई अवगत गराएका थिए । मन्त्रालयका कानुन अधिकृत सुनिल रेग्मीको उपस्थितिमा भएको छलफलकाे संयोजन पत्रकार महासंघ झापाले गरेको थियो ।
झापाली सञ्चारकर्मीहरूले मस्यौदामाथि आ-आफ्नो सुझाव र टिप्पणी राखेका छन् । महासंघका अध्यक्ष एकराज गिरीले इमेल मार्फत पनि मन्त्रालयलाई सुझाव पठाउन सकिने जनाउँदै मस्यौदा अध्ययन गर्न अनुरोध गरेका छन् ।