झापा- भारतीय राज्य उत्तर प्रदेशको झाँसीस्थित एउटा अस्पतालमा आगलागी हुँदा १० जना नवजात शिशुको मृत्यु भएको छ । घटनापछि सरकारले मृत्यु भएका नवजात शिशुको परिवारका लागि सहयोग रकम घोषणा गरेको छ।
प्रधानमन्त्री कार्यालयको आधिकारिक एक्स ह्यान्डलमार्फत अस्पतालमा भएको आगलागीमा परी मृत्यु भएका शिशुका परिवार र घाइतेका लागि सहयोग राशि उपलब्ध गराउनने घोषणा गरिएको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार झाँसीस्थित महारानी लक्ष्मीबाई मेडिकल कलेज, बालरोग विभागको एसएनसीयू वार्डमा शुक्रबार आगलागी हुँदा १० नवजात शिशुको मृत्यु भएको थियो ।
घटनामा ३७ शिशु घाइते भएका थिए । घटनामा मृत्यु भएका नवजात शिशुको परिवारलाई प्रधानमन्त्री राहत कोषबाट २ लाख रुपैयाँ सहयोग रकम दिइनेछ भने घाइते शिशुका परिवारले ५० हजार रुपैयाँ सहयोग पाउनेछन् ।
उत्तर प्रदेशको मुख्यमन्त्रीको कार्यालयले पनि पीडितका लागि सहयोगको घोषणा गरेको छ । मृतक नवजात शिशुको परिवारलाई जनही ५ लाख रुपैयाँ र घाइते नवजात शिशुलाई ५० हजारका दरले सहयोग रकम दिन निर्देशन दिइएको छ ।