बिर्तामोड-संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले आइतबार झापाको बिर्तामोडका विभिन्न विकास योजनाको अनुगमन गरेका छन् । मन्त्री भएपछि पहिलो पटक दाहाल गृह जिल्ला झापा आएका हुन् ।
मन्त्री दाहाललाई नेकपा एमाले झापाले आइतबार बिहान पार्टी कार्यालयमा स्वागत सम्मान गर्दै विभिन्न विकास आयोजनाका विषयमा स्मरणपत्र बुझाएको थियो । एमाले झापाका अध्यक्ष प्रेम गिरीले स्मरणपत्र बुझाएका थिए ।
मन्त्री दाहालले बिर्तामोडको भद्रपुर सडकखण्ड, शनिश्चरे रोड, हर्कलाल रोड, गोकुल जोशी मार्ग, चन्द्रमार्ग लगायतको स्थलगत अनुगमन गरेको नेकपा एमाले बिर्तामोड नगर कमिटीका अध्यक्ष सुवास भट्टराईले बताए ।
निर्माणाधीन विकास योजनाको अनुगमनपछि मन्त्री दाहालले समयमा काम सम्पन्न गर्न निर्माण कम्पनीका प्रतिनिधिलाई निर्देशन दिएका छन् । मन्त्री दाहालले बिर्तामोड वडा नम्बर ७ को पर्यटकीय क्षेत्र सहिद नेत्रपार्कको समेत अवलोकन गरेका छन् ।
नेत्रपार्ककाे प्रवेशद्वार नजिक रहेको देउनिया खोलामा लगाइएको काठे पुल प्रतिस्थापन गर्दै पक्की पुल निर्माणमा पहल गर्ने प्रतिबद्धता मन्त्री दाहालले व्यक्त गरेको एमाले नगर कमिटीका अध्यक्ष भट्टराईले बताए ।















