बिर्तामोड-फरेस्ट एक्सन नेपालले समुदायमा फैलिँदै गएको उल्टा काँडा झार नियन्त्रणका सन्दर्भमा स्थानीय सरकारसँग छलफल सुरु गरेको छ । नयाँ मिचाहा प्रजातिका रूपमा उल्टा काँडा फैलिरहेको जनाउँदै फरेस्ट एक्सनले जनप्रतिनिधिसँग छलफल सुरु गरेको हो ।
बुधबार बिर्तामोड नगरपालिकाका जनप्रतिनिधिसँग यस विषयमा छलफल गरिएको छ । उल्टा काँडा झारको समस्यालाई साझा रूपमा लिनुपर्ने र नियन्त्रणका लागि जनस्तरबाट पहल थाल्ने प्रतिबद्धता जनप्रतिनिधिले व्यक्त गरेका छन् ।
नगर प्रमुख पवित्रा महतारा प्रसाईले वातावरण जोखिम न्यूनीकरण अभियानमा सहभागी हुन सबै जनप्रतिनिधिलाई आग्रह गर्दै उल्टा काँडा झार नियन्त्रणका लागि आ-आफ्नो क्षेत्रबाट लाग्न अनुरोध गरेकी छन् ।
झापा, मोरङ र सुनसरीका सीमित क्षेत्रमा मात्रै उल्टा काँडा भेटिएको र तीव्र गतिमा फैलिँदै गएको फरेस्ट एक्सन नेपालकी फिल्ड अधिकृत मुना भट्टराईले बताइन् । उनका अनुसार उल्टा काँडाले वन, कृषि, चरण क्षेत्र, चौपाया र जैविक विविधतालाई नकारात्मक असर पारिरहेको छ ।
विभिन्न अध्ययन अनुसार उल्टा काँडाका कारण पूर्वका तीन जिल्लामा २५०० भन्दाबढी चौपायाको मृत्यु भइसकेको छ । फल पाकेर बिउ फैलिनुभन्दा अगाडि नै यसको बोट मार्न सके थप विस्तारबाट रोक्न सकिने फिल्ड अधिकृत भट्टराईले बताइन् ।
खोला किनार तथा बगर, खुला ठाउँ, घनत्व पातलो भएको जङ्गल, सडक छेउछाउ र भर्खरै ग्राभेल गरेको बाटो वरिपरि उल्टा काँडा देख्न सकिन्छ ।