झापा-मोबाइल फोनको नयाँ ब्रान्ड र उत्पादनमा नेपालीको आकर्षण बढ्दै गएको छ । बढ्दो आकर्षणका कारण मोबाइल फोनको आयात पनि उच्च हुँदै गएको हो ।
भन्सार विभागको पछिल्लो तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको चार महिनामा १३ अर्ब ४० करोड रुपैयाँ बराबरको मोबाइल फोन आयात भएको छ ।
आठ लाख २७ हजार ९२५ थान मोबाइल आयात भएको विभागको तथ्याङ्कले देखाएको हो । सबैभन्दा ठूलो परिमाणमा चीनबाट मोबाइल आयात भएको छ ।
चीनबाट ९ अर्ब १९ करोड ७२ लाख बराबरको ६ लाख ११ हजार ९९७ थान मोबाइल आयात भएको विभागले जनाएको छ । भारतबाट ४ अर्ब २ करोड ८४ लाख बराबरको फोन आयात भएको छ ।
विभागका अनुसार नेपालले भियतनाम, अमेरिका, युएई, जापान, कोरिया, अस्ट्रेलिया, कतार लगायतका मुलुकबाट पनि आवश्यकताका आधारमा मोबाइल फोन आयात गरेको छ ।


















