मोरङ-कोशी प्रदेश सरकारले २०८२ लाई पर्यटन वर्ष घोषणा गरेको छ । ४५ औँ पर्यटन दिवसका अवसरमा शुक्रबार विराटनगरमा आयोजित कार्यक्रममा काेशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पर्यटन वर्ष २०८२ घोषणा गरेका हुन् ।
पर्यटन प्रवर्द्धन गरी आन्तरिक स्रोत बढाउने लक्ष्य राखेर सरकारले २०८२ लाई पर्यटन वर्षका रुपमा मनाउने निर्णय गरेको मुख्यमन्त्री कार्कीले बताए । काेशी प्रदेशलाई मुलुककै पर्यटन हव बनाउन सकिने मुख्यमन्त्री कार्की बताउँछन् ।
निजी क्षेत्र सँगको सहकार्यमा कोशी प्रदेशमा २५ प्रतिशत थप पर्यटक भित्र्याउने तयारी भइरहेको मुख्यमन्त्री कार्कीले जानकारी दिए । उनले भारतीय पर्यटकलाई पहिलो प्राथमिकतामा राखिएको बताउँदै उनीहरूको आगमनले थप आम्दानी बढ्ने विश्वास व्यक्त गरेका छन् ।
कोशी प्रदेश सरकारले पर्यटक सवार भारतीय गाडीमा स्टीकर टाँस्ने अभियान पनि सुरु गरेको छ। सजिलै आवतजावत र घुमघामका लागि सहजता प्रदान गर्न पर्यटक सवार गाडीमा स्टीकर टाँस्न थालिएको हो ।
मुख्यमन्त्री कार्कीले सुरक्षा जाँच स्टीकर कोशी प्रदेशका प्रहरी प्रमुख डीआइजी चन्द्र कुबेर खापुङलाई हस्तान्तरण पनि गरेका छन् ।