८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

राजस्व लक्ष्य पूरा गर्ने गरी काम गर्न अर्थमन्त्रीको निर्देशन



काठमाडौँ-अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षमा पूर्व निर्धारित राजस्व लक्ष्य पूरा गर्ने गरी काम गर्न कर्मचारी संयन्त्रलाई निर्देशन दिएका छन् ।

वार्षिक राजस्व समीक्षा गर्न अर्थ मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले संसद्ले अनुमोदन गरेको राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न कर्मचारीलाई निर्देशन दिएका हुन् ।

‘लक्ष्य प्राप्तिका निम्ति सबै सामर्थ्य लगाएर तपाईँहरुले काम गर्नुपर्छ’, कार्यक्रममा अर्थमन्त्री पौडेलले भने, ‘चलनचल्तीका हिसाबले अघि बढ्दा लक्ष्य पूरा हुन सक्दैन ।’

राजस्व परिचालनका हिसाबले अझै संक्रमणकै अवस्थामा रहेको जनाउँदै अर्थमन्त्री पौडेलले चुहावट नियन्त्रण गर्ने गरी कार्ययोजना बनाएर काम गर्न कर्मचारीहरूलाई निर्देशन दिए।

आर्थिक वर्ष २०८१-८२ मा सरकारले १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ । लक्ष्य प्राप्तिका लागि उद्योगी व्यवसायी र करदातालाई मैत्रीपूर्ण व्यवहार गर्न मन्त्री पौडेलको निर्देशन छ ।

गत आर्थिक वर्षमा पनि राजस्व सङ्कलनको पूर्व निर्धारित लक्ष्यमा सरकार असफल भएको थियो । गतवर्ष १४ खर्ब २२ अर्ब ५४ करोड रुपैयाँ राजस्व संकलन गर्ने सरकारको लक्ष्य थियो ।

पूर्व निर्धारित लक्ष्यमा सरकारले १० खर्ब ८२ अर्ब ५४ करोड मात्रै संकलन गर्न सफल भयो । आयातकर्ता राजस्व घटेको स्वयम् सरकारी अधिकारीहरूले बताइरहेका छन् ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार ००:००  ४ : २१ बजे