झापा-दशैँको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाह भुटान जाने भएका छन् । पूर्व राजाका संवाद सचिव डा. फणिराज पाठकले आगामी साता पूर्वराजा भुटान जान लागेको जनाएका हुन् ।
संवाद सचिव पाठकले एक वाक्यको सूचना जारी गर्दै भनेका छन्, ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेव भुटानको निजी भ्रमणको सिलसिलामा आगामी हप्ता सवारी होइबक्सने छ ।’
सूचनामा निजी भ्रमणको सिलसिला भनिएको छ । भ्रमणको तिथि, कार्यक्रम र प्रयोजन भने सूचनामा उल्लेख छैन । दशैँअघि नै पूर्व राजा स्वदेश फर्कने जनाइएको छ ।
राजा भएका बखतसमेत कहिल्यै भुटान भ्रमण नगरेका पूर्व राजा किन जान लागेका हुन् ? भन्ने विषयमा जनस्तरमा अनेक किसिमका जिज्ञासा छन् । सम्भवत पूर्व राजाले भुटानका राजा जिग्मे खेसर नाम्गेलसँग भेटवार्ता गर्नेछन् ।


















