बिर्तामोड–वीरता लेडी जेसीजले ‘जेसीज सप्ताह’ सुरु गरेको छ । झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले शनिवार मध्यान्ह बिर्तामोडमा जेसीज सप्ताहको उद्घाटन गरेका छन् । अतिथि सदनमा आयोजित समारोहका बीच प्रजिअ बाँस्तोलाले जेसीज सप्ताहको सुरुवात गरेका हुन् ।
नेतृत्व विकाससँगै सामाजिक अभियान र परोपकारी गतिविधिमा आफूलाई समर्पित गर्दै आएको लेडी जेसीजले ‘जेसीज सप्ताह’ अन्तरगत विभिन्न रचनात्मक कार्यक्रम तय गरेको छ । जेसीज सप्ताह अन्तरगत एक सातासम्म विभिन्न कार्यक्रम सञ्चालन हुने वीरता लेडी जेसीजकी अध्यक्ष मेनुका ओलीले बताइन् ।
जेसीज सप्ताह उद्घाटन समारोहमा अर्जुनधारा वडा नम्बर ६ का वडाध्यक्ष हरिश्चन्द्र बाँस्तोला, झापा प्रहरीका प्रमुख एसपी मिलन केसी, वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजाल, बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु न्यौपाने, झापा गोल्डकपका अध्यक्ष बिनोद बस्नेत, नेपाल जेसीजका निरुपित उपाध्यक्ष घनश्याम चाैधरी, इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्ट, सशस्त्र प्रहरी शनिश्चरे वेस क्याम्पका डीएसपी दिव्यराज काेइराला, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख गणेश पाैडेल लगायतको आतिथ्य रहेको थियो ।
महासचिव मुना ढुंगेलका अनुसार साताव्यापी कार्यक्रम अन्तरगत लागूऔषध दुर्व्यसन र नियन्त्रणका लागि गरिएका प्रयास, ट्राफिक सचेतना, स्लो स्कुटर रेस, वित्तिय साक्षरता, संसदीय बैठक प्रणाली र सहयोग हस्तान्तरण लगायतका कार्यक्रम राखिएका छन् ।
निवर्तमान अध्यक्ष संगीता गिरी जेसीज सप्ताहको मूल संयोजकका रुपमा रहेकी छन् । पूर्व निर्धारित कार्यक्रम सम्पन्न गर्न अलग–अलग कार्यक्रम संयोजक तोकिएको छ । प्रियङ्का उप्रेतीको संयोजकत्वमा उद्घाटन समारोह आयोजना गरिएको हो ।