बिर्तामोड-व्यवसायिक क्षेत्र समेतको अग्रसरतामा बिर्तामोडको हिकाेला रोडलाई एकतर्फी बनाइएको छ । बिर्तामोड उद्योग वाणिज्य सङ्घको अग्रसरतामा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले हिकाेला राेड एकतर्फी बनाइएको हो ।
सवारी तथा यात्रुको आवतजावत सहजताका लागि दक्षिणबाट उत्तरतर्फ मात्र सञ्चालन गर्न पाउने गरी हिकाेला रोडलाई एकतर्फी बनाइएको बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु न्यौपानेले बताए ।
यस अघि सङ्घले अरुलाई एकतर्फी बनाउने विषयमा सरोकारवालासँग छलफल गरेको थियो । बिर्तामोड वडा नम्बर ५ को समेत सहभागितामा भएको छलफलले निकालेको निष्कर्षका आधारमा रोडलाई एकतर्फी बनाइएको हो ।
यसअघि समेत गरिएको प्रयासका आधारमा दक्षिणबाट उत्तरतर्फ सञ्चालन गर्न पाउने गरी हिकोला रोडलाई एकतर्फी बनाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख गणेश पौडेलले बताए ।
यात्रुहरूको सचेतनाका लागि लायन्स क्लब अफ बिर्तामोडले ट्राफिक सिग्नल बोर्ड हस्तान्तरण गरेको छ । क्लबका अध्यक्ष उपेन्द्र बानियाँले २० वटा बोर्ड हस्तान्तरण गरिएको बताए ।
हिकोला रोडमा प्रत्येक महिनाको १५ गतेसम्म सडकको पूर्वतर्फ र १६ गतेबाट मसान्तसम्म पश्चिमतर्फ दुई पाङ्ग्रे सवारी पार्किङ गर्न पाइनेछ ।