२ असार २०८२, सोमबार | Tue Jun 17 2025

प्रधानमन्त्री ओलीद्वारा दमक बिजनेस टावरको उद्घाटन



झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले लामो बलिदान र सङ्घर्षपछि प्राप्त भएको राजनीतिक उपलब्धिलाई कुनै पनि हालतमा मास्न नदिइने बताउनुभएको छ ।

झापाको दमकमा निर्मित दमक बिजनेस टावरको आइतबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले प्राप्त भएका उपलब्धिलाई थप संस्थागत र सुदृढ गर्दै लैजाने बताउनुभयो ।

लोकतान्त्रिक मूल्य मान्यता र प्रणालीलाई अझ सुदृढ र परिस्कृत बनाउने जनाउँदै प्रधानमन्त्री ओलीले यसविरुद्ध हुनसक्ने सबै किसिमका षड्यन्त्रलाई परास्त गरेर अघि बढ्ने दृढता व्यक्त गर्नुभएको हो ।

बैंक तथा वित्तीय संस्था विरुद्ध उत्रिने र औद्योगिक घरानालाई लखेट्नुपर्छ भन्ने अराजक तत्वहरू सलबलाउन खोजेको भन्दै प्रधानमन्त्री ओलीले त्यस विरुद्ध सरकार सशक्त रूपमा प्रस्तुत हुने बताउनुभयो ।

उहाँले भ्रष्टाचार विरुद्धको नाटक गरेर जनतालाई भ्रममा राख्ने माओवादी प्रयत्न असफल भएको टिप्पणी गर्नुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीको आन्दोलनप्रति संकेत गर्दै प्रधानमन्त्री ओलीले कुनै पनि बहानामा विरोध वा सहकारी ठगी गरेजस्तो देश चलाउन सजिलो नहुने बताउनुभयो ।

आफ्नै निर्वाचन क्षेत्र झापा ५ मा निर्माण भएको बहुप्रतिक्षित दमक बिजनेस टावरको औपचारिक उद्घाटनका लागि प्रधानमन्त्री ओली उपप्रधानमन्त्री प्रकाशमान सिंहसँगै आइपुग्नु भएको हो । प्रधानमन्त्री ओलीले बिजनेस टावर वरपरको क्षेत्रलाई आधुनिक सहरको रुपमा विकास गर्ने उल्लेख गर्नुभयो ।

सहरी विकासमन्त्री समेत रहेका सिंह सहरी विकास र आधुनिककरणमा दमक बिजनेस टावर एउटा माइलस्टोन साबित हुन सक्ने विश्वास व्यक्त गर्नु हुन्छ । उहाँले झापा जिल्लाको प्रगतिको प्रतीकका रूपमा टावर बनेको बताउनुभयो ।

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउने गरी यस प्रकारका व्यावसायिक भवनहरूले आर्थिक विकास र समृद्धिमा टेवा पुर्याउने बताउनुभयो ।

कोशी प्रदेश सरकारका पूर्व मुख्यमन्त्री उद्धव थापाले विकास र समृद्धिको क्षेत्रमा एउटा महत्त्वपूर्ण आयाम थपिने गरी दमक बिजनेस टावर बनेको र यसबाट उद्योगी व्यवसायीको व्यावसायिक यात्रा झन् फराकिलो भएको बताउनुभयो ।

एक सय मिटर अग्लो दमक बिजनेस टावर १८ तलाको छ । धरहराभन्दा अग्लो यो संरचना १ अर्ब ४५ करोड रुपैयाँको लागतमा निर्माण भएको हो ।

प्रधानमन्त्री ओलीले यसअघि आजै झापाको मेचीनगर ४ मा मानव सेवा आश्रमको भवन शिलान्यास गर्नुभएको थियो ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार ००:००  ८ : ३० बजे