बिर्तामोड-प्रेस चौतारी नेपाल झापाले झापा शाखाका संस्थापक अध्यक्ष नेत्रप्रसाद पाठकको निधनप्रति दुःख व्यक्त गरेको छ । बिहीबार शाेक वक्तव्य जारी गर्दै प्रेस चौतारी झापाले अग्रज अभिभावकलाई गुमाउनु पर्दा ज्यादै दुःख लागेको जनाएको हो ।
प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदालले संस्थापक अध्यक्ष पाठकको निधनले झापाली सञ्चार क्षेत्रमा अपुरणीय क्षति भएको बताए ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा अनवरत संघर्ष गरेका झापाका पुराना पत्रकार पाठकको ७२ वर्षको उमेरमा बुधबार बिहान बिर्तामोड-४ स्थित आफ्नै निजी निवासमा निधन भएको थियोे ।
ट्रेड युनियन आन्दोलनका अगुवा समेत रहेका पाठक लामो समय शिक्षण पेशामा पनि संलग्न थिए । पत्रकारितामार्फत सामाजिक रूपान्तरणको अभियान पाठकले खेलेको भूमिका र योगदान सधैं स्मरणीय हुने प्रेस चौतारीले जनाएको छ ।