२९ बैशाख २०८२, सोमबार | Tue May 13 2025

बिर्तामोड न्यौपाने डायरी प्रकाशन : बन्धुहरूलाई संगठित गर्ने प्रयास



बिर्तामोड-न्यौपाने बन्धु समाज नेपाल बिर्तामोड नगर समितिले नगरभित्र छरिएर रहेका न्यौपानेहरूको विवरण संकलन गरी बिर्तामोड न्यौपाने डायरी प्रकाशन गरेको छ ।

समाजले वडागत रूपमा तथ्याङ्क सङ्कलन गरी न्यौपाने बन्धुहरूको वैयक्तिक विवरण डायरीमा समावेश गरेकाे समाजका बिर्तामोड अध्यक्ष देवीनारायण न्यौपानेले बताए ।

नगर समितिका सचिव नरेशकुमार न्यौपानेका अनुसार पारिवारिक विवरणसहितको डायरीमा पुर्ख्यौली थलो, पेशा व्यवसाय लगायतका विवरण समेत समावेश गरिएका छन् ।

बन्धुत्वको भावनालाई प्रगाढ बनाउँदै लैजाने उद्देश्यले छरिएर रहेका न्यौपानेहरूलाई संगठित गर्ने गरी पुस्तकका रूपमा डायरी प्रकाशन हुनु आफैँमा सकारात्मक प्रयास भएको न्यौपाने बन्धु समाज जिल्ला समन्वय समिति झापाका अध्यक्ष मेदनीप्रसाद न्यौपानेले बताए ।

बिर्तामोड न्यौपाने डायरीको शुक्रबार विमोचन गरिएको छ । समाजको बिर्तामोडस्थित कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रमका बीच डायरी लोकार्पण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि नन्दलाल र शिवकुमार न्यौपानेले डायरी विमोचन गरेका हुन् ।

विमोचन कार्यक्रममा प्रदेश सहसचिव मुक्ति न्यौपाने, समाजका सल्लाहकार सदस्य झापाका अग्रज पत्रकार सुब्रत न्यौपाने लगायतले आ-आफ्नो धारणा राखेका थिए । कार्यक्रममा गङ्गा न्यौपानेले स्वागत गरेका थिए ।

१५४ पृष्ठको डायरीमा न्यौपाने वंशकी रत्न, नेपाली समाज परिवर्तनकी संवाहक र स्वतन्त्रता प्रेमी आदर्श नारी शक्तिका रुपमा रहेकी योगमायाको योगदानको विषय पनि समेटिएको छ ।

योगमायासँग पक्राउ परी जेल पर्नेहरूको विवरण र जल समाधि लिनेहरूको विवरण पनि डायरीमा समावेश गरिएको नगर सचिव न्यौपानेले बताए ।

प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार ००:००  ८ : ३३ बजे