झापा-कनकाई नगरपालिकाको बिरिङ खोलामा यसवर्ष पनि बृहत रूपमा छठ पूजा सम्पन्न हुने भएको छ । श्री छठ समाजसेवा समिति बिर्तामोडले पूजाको तयारी र व्यवस्थापन गरिरहेको हो ।
समितिले मंगलबार सचिवालयमा पत्रकार सम्मेलन गरी पूजाको तयारी र व्यवस्थापनका सबै काम सकिएको जनाएको छ । बृहत सांस्कृतिक कार्यक्रमसहित छठ पूजा सम्पन्न हुने अध्यक्ष रामेश्वर द्विवेदीले बताए ।
छठ पूजाका लागि बिरिङ खोलामा ४०० भन्दा बढी पूजाघाट निर्माण गरिएको कार्यक्रम संयोजक राजकुमार गुप्ताले जानकारी दिए । समितिले पूजाघाट व्यवस्थापनका लागि १३ लाख रुपैयाँ खर्च गरेको छ ।
छठ पूजालाई व्यवस्थापन गर्नका लागि विभिन्न सातवटा उपसमिति गठन गरिएका छन् । राजकुमार गुप्ताको संयोजकत्वमा मूल आयोजक समिति बनाइएको छ ।
मनोज चौधरीको संयोजकत्वमा अर्थ व्यवस्थापन समिति गठन गरिएको छ भने शंकर भगतको संयोजकत्वमा घाट तथा कुपन व्यवस्थापन समिति बनाइएको छ ।
छठ पूजाको प्रचारप्रसारको जिम्मेवारी संगीता रौनियारको संयोजकत्वमा गठित समितिलाई दिइएको छ । अशोक चौधरीको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति गठन गरिएको छ ।


















