२ असार २०८२, सोमबार | Tue Jun 17 2025

मधुश्री प्रतिष्ठानद्वारा सम्मान र पुरस्कार प्रदान



काठमाडौँ- प्रा. डा. उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानले विभिन्न प्राज्ञिक तथा साहित्यिक व्यक्तित्वलाई सम्मानित तथा पुरस्कृत गरेको छ । प्रतिष्ठानको प्रथम वार्षिक साधारण सभाको अवसर पारेर शनिबार काठमाडौँमा साहित्यकार डा. नवराज लम्सालसहित विभिन्न व्यक्तित्वलाई सम्मानित तथा पुरस्कृत गरिएको हो ।

क्यान्सरका कारण गतवर्ष निधन भएकी प्रा. डा. तथा गणितविज्ञ उर्मिला प्याकुरेल तथा साहित्यिक उपनाम मधुश्रीको स्मृतिमा प्रतिष्ठान स्थापना गरिएको थियो । उनको उपचारार्थ सङ्कलित रकमसहितको अक्षयकोष स्थपना गरेर प्राज्ञिक, साहित्यिक तथा स्वास्थ्य समाजसेवामा प्रतिष्ठानले काम सुरु गरेको अध्यक्ष प्रा.डा. टंकनाथ धमलाले जानकारी दिए ।

उनले अक्षयकोषको रकमलाई वृद्धि गर्दै लैजान संरक्षण सदस्यका रुपमा थप सहयोग रकम सङ्कलन सुरु भएको बताए । उनका अनुसार आगामी वर्ष प्याकुरेलको स्मृतिमा स्मारिका प्रकाशन, उनका कथाहरु सङ्कलन गरी सङ्ग्रह प्रकाशनसहित शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा काम गर्ने प्रतिष्ठानको योजना रहेको छ ।

साहित्यकार लम्साललाई नेपाली साहित्यको उन्नयनमा योगदान पुर्याएवापत कदरपत्रसहित प्रमुख अतिथि प्रा.डा. राजेन्द्र बरालले सम्मानित गरेका हुन् । त्यस्तै, त्रिभुवन विश्वविद्यालयबाट गणित विषयमा उच्च अङ्कसहित सर्वोत्कृष्ट हुने धु्रव पौडेल र भुवनेश्वरी गिरी, सन्देश ठकुरी, जयन्ती साउदलाई २५ हजार रुपैयाँ र कदरपत्रसहित पुरस्कृत गरिएको थियो ।

विश्वविद्यालयस्तरीय शोधपत्र लेखनका लागि एलिना श्रेष्ठ र जयन्ती साउदलाई दश हजार रुपैयाँका दरले अनुदान सहयोग प्रदान गरिएको थियो । प्याकुरेलले बाल्यकालमा अध्ययन गर्दै उत्कृष्ट अङ्क ल्याउने सिन्धुपाल्चोकको कालिका प्राविकी छात्रा अनुजा शाहीलाई दश हजार रुपैयाँ र बाघभैरव माविका प्रविण राईलाई १५ हजार रुपैयाँसहित पुरस्कृत गरिएको थियो ।

सो अवसरमा प्रतिष्ठानद्वारा प्रकाशित मधुश्रीका गीत तथा कविता सङ्ग्रह मधुरस र उनका दाजु उद्धव प्याकुरेलको किशोर उपन्यास तक्माको पनि विमोचन गरिएको थियो । प्रमुख अतिथि तथा बरिष्ठ क्यान्सर चिकित्सक राजेन्द्रप्रसाद बरालले उच्च मनोबलका कारण लामोसमय क्यान्सर जितेर आफू र अरुलाई समेत बाँच्नका लागि उर्मिलाले प्रेरित गरेको स्मरण गरे ।

डा. नवराज लम्सालले बालखदेखि अध्ययनसँगै साहित्य लेखनमा सक्रिय मधुश्रीका रचनामा नेपाली माटोको सुवास भेटिने गरेको स्मरण गरे । महाकाव्यकार चन्द्रप्रसाद न्यौपानेले छापिएका १२७ वटा सिर्जनामा लोकभाका, संस्कृत छन्द र गद्य कविताको धार पनि प्याकुरेलको राम्रो रहेको बताए ।

प्रा. डा. धु्रव घिमिरेले उद्धव प्याकुरेलको तक्मा उपन्यास बारेको समीक्षा गर्दै उपन्यास किशोर मानसिकता बुझाउन सफल रहेको प्रष्ट्याए । कार्यक्रममा बाघभैरव माविका प्रधानाध्यापक श्रीप्रसाद न्यौपानेले उर्मिला सानैदेखि धेरै विद्यार्थीका माझमा सधैँ प्रथम हुने गरेको स्मरण गरे ।

प्रतिष्ठानका सचिव उद्धव प्याकुरेल र कोषाध्यक्ष नवराज सापकोटाले कोषका गतिविधिबारे जानकारी दिए । प्याकुरेलको एक वर्षअघि २०७९ चैत २९ गते निधन भएको थियो ।

प्रकाशित मिति : ८ भाद्र २०८१, शनिबार ००:००  ५ : २५ बजे