काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरी टोली परिचालित भएको छ । अदालतले दिएको अनुमतिका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोली लामिछानेलाई पक्राउ गर्न खटिएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीले सहकारी ठगी अभियोगमा सभापति लामिछानेलाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो । अदालतको अनुमतिका आधारमा कास्की प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरोलाई पक्राउका लागि सहयोग गर्न पत्र पठाएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय बाहिर अहिले प्रहरीको बाक्लो उपस्थितिका बीच सुरक्षा व्यवस्था मिलाइएको छ । घटनास्थलमा उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीसमेत खटिएको छ ।
समर्थकहरूको भीड र नाराबाजीका बीच सभापति लामिछानेलाई पक्राउ गरेर लैजाँदा कुनै तनाव नहोस् भन्ने हिसाबले प्रहरी टोली खटाइएको प्रहरी अधिकारीहरुले जनाएका छन् ।
सम्भवत केहीबेरपछि सभापति लामिछानेलाई पक्राउ गरेर कास्की पठाउने तयारी प्रहरीको छ ।