झापा-स्रोत नखुलेको जनाउँदै सशस्त्र प्रहरी बलले नेपाली रुपैयाँसहित एकजना भारतीय नागरिकलाई आइतबार टाघनडुव्वाबाट पक्राउ गरेको छ ।
भारतको किशनगञ्ज डिगल बैंक ग्राम पञ्चायत घर भएका २० वर्षीय असफाक आलम पक्राउ परेका हुन् । भारतबाट नेपालतर्फ आउँदै गरेका उनको साथमा ५ लाख ३४ हजार नेपाली रुपैयाँ फेला परेको छ ।
आलम प्रदेश १-०१-०१२ प ४३८८ नम्बरको मोटरसाइकलमा नेपाल आइरहेका थिए । सशस्त्र प्रहरीकाे टाघनडुव्वा पोस्टले शङ्का लागेर उनको खानतलासी लिएको थियो ।
आलमलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।


















