झापा-चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा सरकारले १३ अर्बभन्दा बढीको बिजुली भारतलाई बिक्री गरेको छ ।
नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको बिजुली भारतीय बजारमा बिक्री गरेको हो ।
पाँच महिनामा १३ अर्ब ४ करोडको बिजुली भारततर्फ निर्यात भएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
प्राधिकरणका अनुसार पाँच महिनामा १ अर्ब ७६ करोड युनिट बिजुली भारत निर्यात भएको छ । नेपालले प्रति युनिट औसत दर ७ रुपैयाँ ३९ पैसामा बिजुली बेचेको हो ।
प्राधिकरणका अनुसार साउनमा सबैभन्दा बढी ४ अर्ब १५ करोडको बिजुली भारत निर्यात भएको छ । मङ्सिरमा सबैभन्दा कम २८ करोड १४ लाख रूपैयाँको बिजुली निर्यात भएको छ ।