इटहरी-सुनसरीको इटहरी उपमहानगरपालिकाले चारवटा विद्युतीय बस खरिद गरेको छ । नगर क्षेत्रमा सहुलियत बस सेवा सुरु गर्ने उद्देश्यले विद्युतीय बस खरिद गरेको नगरपालिकाले जनाएको हो ।
नगर प्रमुख हेमकर्ण पौडेलले नागरिकको दैनिक यात्राका लागि सहज हुने गरी विद्युतीय बस सेवा सुरु गर्ने तयारी भएको बताए । इटहरीका चारवटै क्षेत्रलाई समेट्ने गरी रूट तय गरिने उनले जानकारी दिए ।
उपमहानगरपालिकाका इन्जिनियर रुपेश आचार्यका अनुसार ६ करोड ३६ लाख ८६ हजार रुपैयाँको लागतमा ती बस खरिद गरिएका हुन् । बसमा जिपीएस, सिसी क्यामेरा, एसी लगायतको सुविधा रहनेछ ।
नगर बस सञ्चालनका लागि कार्यपालिका बैठकले वडाध्यक्ष दिवस पोखरेलको संयोजकत्वमा समिति बनाएर काम गरिरहेको इन्जिनियर आचार्यले बताए ।














