बिर्तामोड-चिकित्सा शिक्षा आयोगले झापाकाे बिर्तामोडस्थित बीएण्डसी अस्पताललाई मेडिकल कलेज सञ्चालनको अनुमति दिने निर्णय गरेको छ ।
आयोगका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा मंगलबार बालुवाटारमा बसेको बैठकले बीएण्डसीलाई चिकित्सा शिक्षा पढाउन सम्बन्धन दिने निर्णय गरेको हो ।
आयोगको १४ औँ बैठकले सर्वोच्च अदालतको आदेश अनुसार बीएण्डसीलाई सम्बन्धन दिने निर्णय गरेको छ । यसअघि सर्वोच्चले १५ दिनभित्र सम्बन्धन दिन काठमाडौँ विश्वविद्यालय र चिकित्सा शिक्षाका नाममा आदेश जारी गरेको थियो ।
२०८० चैत १२ मा न्यायाधीशहरु कुमार चुडाल र सारंगा सुवेदीको इजलासले बीएण्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिन आदेश दिएपछि आयोगले निर्णय गरेरै सम्बन्धन दिने निर्णय गरेको हो ।
सर्वोच्च अदालतको निर्णय अनुरूप अगाडि बढ्ने प्रधानमन्त्री दाहालको धारणापछि आयोगका अरु सदस्यले समेत सम्बन्धन दिने निर्णयमा सहमति जनाएका हुन् ।
बैठकमा आयोगका सह अध्यक्षहरू स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादव र शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ पनि सहभागी थिए ।