कनकाई – झापा गाउँपालिकाको कामाटोलीमा महिलाको हत्या भएको छ । २५ वर्षीया अनिषाकुमारी गणेशको हत्या भएको प्रहरीले जनाएको हो । स्थानीयका अनुसार अनिषाका श्रीमान सतिशकुमारले हम्मरले हानेर हत्या गरेका हुन् । घटनापछि सतिशकुमार फरार भएका छन् ।
शुक्रवार दिउँसो श्रीमान् श्रीमतीबीच झगडा परेको हुनसक्ने प्रहरीको अनुमान छ । विद्यालय गएर फर्किएका छोरीहरु घर आइपुगेपछि मात्र हत्याको घटना सार्वजनिक भएको हो । अनिषा रक्ताम्मे अवस्थामा फेला परेकी हुन् ।
आमा लडिरहेको देखेपछि छोरीहरुले स्थानीयलाई खबर गरेका थिए । स्थानीयका अनुसार उनीहरु केही समयदेखि अलग–अलग बस्दै आएका थिए । शुक्रवार मध्यान्ह सतिशकुमार अनिषाको घर छेउमा देखिएको स्थानीय बताउँछन् । त्यही बेला अनिषाको हत्या भएको प्रहरी र स्थानीयको आशंका छ ।
सतिशको कुटाइबाट आजित भएकी अनिषा सम्वन्ध विच्छेदको प्रक्रियामा थिइन् । कानुनी रुपमा सम्वन्ध विच्छेदको प्रक्रिया टुंगिनुअघि अनिषाको हत्या भएको हो । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ ।


















