बिर्तामोड- झापा प्रहरीले दमकमा भएको गौ हत्याको घटनामा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरेको छ । यसअघि समेत विभिन्न अपराधमा संलग्न भएका अभियुक्त गौहत्या मुद्दामा समातिएका हुन् ।
पक्राउ पर्नेमा भुटानी शरणार्थी शिविर बेलडाँगीका ४४ वर्षीय प्रेमबहादुर बिष्ट, सोही ठाउँका ३८ वर्षीय खगेन्द्र दुलाल, ३२ वर्षीय विधान थापा र दमक नगरपालिका-४ की ४५ वर्षीया गीता श्रेष्ठ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ परेकामध्ये बिष्ट यसअघि चोरी, डाका र केही सार्वजनिक अपराधमा सजाय भोगेका अभियुक्त हुन् । बिष्टमाथि पनि जबरजस्ती करणी मुद्दामा कारबाही भएको प्रहरीको अभिलेख छ ।
शरणार्थी शिविरकै थापा माथि पनि दमक प्रहरीले केही सार्वजनिक अपराधमा मुद्दा दर्ता गरेको देखिएको झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए ।
प्रहरीका अनुसार अभियुक्तहरूले झापाको दमक २ का लक्ष्मण बिष्टको गोठमा बाँधि राखेको दुई महिनाको गर्भिणी गाईलाई चोरेर लगेका थिए । गोठदेखि करिब १०० मिटर पूर्व रहेको खाली प्लटिङ जग्गामा लगेर उनीहरूले गाई मारेको देखिएको डीएसपी चन्दले जानकारी दिए ।
प्रहरीका अनुसार टाउकोमा बञ्चराेले हानेर उनीहरूले गाई मारेका हुन् । उनीहरूले खुट्टा, करङ तथा घाँटीको मासु काटेर लगेर शरीरको भाग मात्र घटनास्थलमा छोडेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनास्थलमा प्रयोग भएको खुकुरी, बञ्चराे, मासु बोक्न प्रयोग गरेको झोला लगायतका सामान समेत बरामद गरेको छ । उनीहरू माथि थप अनुसन्धान भइरहेको डीएसपी चन्दले जानकारी दिए ।














