६ माघ २०८२, सोमबार | Tue Jan 20 2026

तल्लो अरुण जलविद्युत आयोजना निर्माणको तयारी : २६८ परिवार प्रत्यक्ष प्रभावित हुने



संखुवासभा-तल्लो अरुण जलविद्युत आयोजनाबाट २६८ परिवार प्रत्यक्ष रुपमा प्रभावित हुने देखिएको छ । भारतीय निर्माण कम्पनी सतलजले प्रस्ताव गरेको पुनर्वास तथा पुनस्थापनाको मस्यौदा प्रतिवेदनले यस्तो देखाएको हो ।

प्रतिवेदन अनुसार आयोजना निर्माणका लागि करिब ६५ हेक्टर जमिन अधिग्रहण गर्न जरुरी देखिएको छ । तल्लो अरुण पावर डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी निर्देशक अरुण धिमानका अनुसार यसबाहेक सरकारी वन क्षेत्र ७६ हेक्टर अधिग्रहण हुनेछ ।

आयोजनाको प्रतिवेदनअनुसार प्रभावित स्थानीय बासिन्दालाई १ अर्ब ४० करोड रकम मुआब्जा वितरण गरिनेछ । तल्लो अरुण बन्ने निश्चित भएको जनाउँदै निर्माण कम्पनी सतलजले प्रभावित क्षेत्रका स्थानीय बासिन्दासँग छलफल गरिरहेको छ ।

यसअघि भारतीय निर्माण कम्पनी सतलजले नै अरुण तेस्रो जलविद्युत आयोजना निर्माण प्रारम्भ गरेको थियो । ९०० मेगावाट क्षमताको यो आयोजना निर्माणाधीन अवस्थामा छ । तल्लो अरुण आयोजना चाहिँ करिब १७ दशमलव ४ किलोमिटर सुरुङमार्गबाट पानी ल्याएर निर्माण गर्न लागिएको हो ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार ००:००  ८ : ०० बजे