बिर्तामोड– बिर्तामोड नगरपालिकाले वडा नम्बर ६ मा बाख्रा वितरण गरेको छ । नगरको मेयर पकेट प्याकेज ग्रामीण बाख्रा साटासाट कार्यक्रम अन्तर्गत महिला कृषकहरुलाई सोमबार बाख्रा वितरण गरिएको हो ।
नगर प्रमुख पवित्रा महतारा प्रसाईले याग्राङ्ग सिङ्ग कृषक समूहलाई ४५ वटा पाठी र एउटा बोयर जातको बीउ बोका वितरण गरेकी हुन् । समूहमा रहेका १५ जनाले तीन वटाको दरले बाख्रा प्राप्त गरेका छन् ।
मेयर पकेट प्याकेज कार्यक्रम अन्तर्गत बाख्रा प्राप्त गरेको समूहले एक वर्षपछि त्यतिनै संख्यामा बाख्रा अर्को समूहलाई हस्तान्तरण गर्नु पर्ने व्यवस्था छ ।
ती बाख्रा वडा नम्बर ८ को किसानभिट्टा व्यवसायिक तथा पशुपालन कृषक समूहबाट उपलव्ध गराइएको हो । नगरपालिकाले आर्थिक वर्ष २०७४/०७५ यता ७ सय २१ वटा बाख्रा वितरण गरिसकेको छ । याे अवधिमा नगरपालिकाकाे सहयोगमा २४० वटा खोर पनि निर्माण भएको छ ।
बाख्रा वितरण गरेपछि नगरपालिकाले खोर निर्माणसँगै वीमा, खोप, सिजनको घाँस र औषधि उपचारमा समेत सहयोग गर्छ । कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले ग्रामीण महिलाको आर्थिक उपार्जनका लागि सञ्चालन गरिएको बाख्रा साटासाट कार्यक्रम प्रभावकारी भएको बताइन् ।
महिलाले बाख्रापालन सुरुगरेपछि छोराछोरीको शिक्षा, चाडपर्व र घर खर्च चलाउन सघाउ पुगेको भन्दै नगर प्रमुख प्रसाईले बाख्रालाई राम्रो पालनपोषण गरेर मनग्य आम्दानी लिन आग्रह गरिन् ।
बिर्तामोडमा बाख्रापालनमा १५ वटा महिला कृषक समूह सक्रिय रहेको पशुपंक्षी तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहालले जानकारी दिइन् । उनका अनुसार याे कार्यक्रम अन्तर्गत कृषकले वार्षिक ६० हजारदेखि ३ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् ।
नगरले सुरुवातमा २ लाख ६५ हजार लगानी गरेर बाख्रा खरिद गरी मेयर पकेट अन्तर्गत बाख्रा साटासाट कार्यक्रमलाई अघि बढाएको थियो ।
आर्थिक विकास समिति संयोजक संगीता सिवाको अध्यक्षतामा आयोजित बाख्रा वितरण कार्यक्रममा स्थानीय विभिन्न संघ संस्थाका प्रतिनिधिको समेत उपस्थिति रहेको थियो ।