१ श्रावण २०८२, बुधबार | Wed Jul 16 2025

मेची भन्सारले तीन महिनामा उठायो ३ अर्ब ५८ करोड ९० लाख राजस्व



काँकडभिट्टा-मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ३ अर्ब ५८ करोड ९० लाख ११ हजार रुपैयाँ राजस्व उठाएको छ ।

मेची भन्सार कार्यालयले अघिल्लो आर्थिक वर्षको तीन महिनाको तुलनामा १९ करोड १७ लाख बढी राजस्व संकलन गरेको हो । अघिल्लो आर्थिक वर्षको तीन महिनामा ३ अर्ब ३९ करोड ७२ लाख ७० हजार रुपैयाँ सङ्कलन भएको थियो ।

मेची भन्सार कार्यालयका भन्सार अधिकृत गणपति कँडेलले चालु आर्थिक वर्षमा १७ अर्ब ३४ करोड ४६ लाख २५ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएको बताए ।

मेची भन्सारले वार्षिक लक्ष्यको २० दशमलव ६९ प्रतिशत राजस्व पहिलो तीन महिनामा उठाएको छ । वर्षेनि राजस्व लक्ष्य गुमाउँदै आएको मेची भन्सारका लागि यसपटक भने राजस्व लक्ष्य घटाइएको छ ।

गत आर्थिक वर्षमा १८ अर्ब २५ करोड ७८ लाख ६८ हजार राजस्व संकलनको लक्ष्य तोकिएको थियो । तर लक्ष्यको तुलनामा भन्सारले राजस्व उठाउन सकेन । ७८.४ प्रतिशत मात्रै लक्ष्य हासिल भयो ।

सीमावर्ती क्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रण गर्न नसक्दा मेची भन्सार कार्यालयले अपेक्षाकृत रूपमा राजस्व संकलन गर्न नसकेको हो । भन्सार कर्मचारीकै मिलेमतोमा अवैध रुपमा सामान भित्रिने गरेका घटना गतवर्ष पटक-पटक सार्वजनिक भएका थिए ।

गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा ९१ करोड ३२ लाख ४३ हजार राजस्व लक्ष्य घटाइएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार ००:००  ८ : ४४ बजे