५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

जस लिन खोज्ने प्रवृत्तिका कारण शिक्षा विधेयकमा अलमल : सभामुख घिमिरे



झापा-सभामुख देवराज घिमिरेले आफैँले जस पाउनुपर्छ भन्ने सांसदहरूको प्रवृत्तिका कारण शिक्षा ऐन आउन नसकेको बताएका छन् । झापाको बिर्तामोडस्थित इन्द्रचन्द्र क्याम्पसको ११ औँ क्याम्पस सभालाई बुधबार सम्बोधन गर्दै सभामुख घिमिरेले यस्तो धारणा व्यक्त गरेका हुन् ।

‘म ताक्छु मुढो बन्चरो ताक्छ घुँडो भनेजस्तै भइरहेको छ’, सभामुख घिमिरेले भने, ‘के गर्दा आफूलाई स्थापित गर्न सकिन्छ भनेर रोल खेल्ने अभिनयकर्ताहरुले यसलाई अलमलमा पारिरहेका छन् ।’ उनले सबै विधेयकलाई टुङ्गोमा लैजाने सन्दर्भमा आफूले पहल गरिरहेको बताए ।

शिक्षा र स्वास्थ्यको क्षेत्रमा ठूलो प्रतिस्पर्धा चलिरहेको जनाउँदै सभामुख घिमिरेले सामुदायिक क्याम्पसहरुले समेत आफ्नो गुणस्तर सुधारमा ध्यान दिनुपर्ने बताए । उनले इन्द्रचन्द्र क्याम्पसको आधिकारिक गुणस्तर सुनिश्चितता प्रमाणपत्रका लागि पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

क्याम्पसका अध्यक्ष हरिचरण शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख प्रकाश दाहालले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नगरप्रमुख पवित्र महतारा प्रसाई, वडाध्यक्ष सूर्यप्रसाद कन्दङवा, शनिश्चरे क्याम्पसका प्रमुख मोहन ओली, एकीकृत समाजवादीका बिर्तामोड इन्चार्ज श्रीप्रसाद मिश्र, स्ववियु सभापति पवन दाहाल लगायतले शुभकामना व्यक्त गरेका थिए ।

क्याम्पस सञ्चालक समितिका सदस्य एवम् जग्गादाता राजेन्द्र थापाले स्वागत गरेको कार्यक्रममा इन्द्रचन्द्र दर्पण विमोचन गरिएको क्याम्पसका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद भट्टराईले बताए । कार्यक्रममा जग्गादाता थापासहित चन्दादाता र उत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थीलाई सम्मान गरिएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार ००:००  ६ : ०३ बजे