झापा-सभामुख देवराज घिमिरेले पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधनप्रति दुःख व्यक्त गर्दै राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
कानून न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरासियालाई आइतबार साँझ फोन गरेर सभामुख घिमिरेले ढुङ्गानाको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने व्यवस्था मिलाउन ध्यानाकर्षण गराएका हुन् ।
पूर्व सभामुख ढुङ्गानाको पुरानो बानेश्वरस्थित फ्रन्ट लाइन अस्पतालमा उपचारका क्रममा आइतबार दिउँसो निधन भएको थियो । उनी कलेजो रोगबाट पीडित थिए ।
सोमबार ढुङ्गानाको अन्त्येष्टि गरिने नेपाली कांग्रेसका नेता लोकेश ढकालले जानकारी दिए । कान्छो छोरा निमेश लन्डनमा रहेकाले उनी फर्किएपछि अन्त्येष्टि गरिने भएको हो ।


















