काठमाडौँ-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनसेवाका काममा जुट्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । अविरल वर्षाका कारण विभिन्न ठाउँमा क्षति भएको जनाउँदै अध्यक्ष प्रचण्डले उद्धार कार्यमा सक्रिय हुन निर्देशन दिएका हुन् ।
प्राकृतिक विपत्तिको अवस्था सिर्जना भएको जनाउँदै प्रचण्डले जोखिमपूर्ण क्षेत्रमा गएर जनसेवाका काममा जुट्न नेता कार्यकर्तालाई निर्देशन दिएका हुन् । अध्यक्ष प्रचण्डले नदी किनार, तटीय क्षेत्र र सम्भावित जोखिम क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध पनि गरेका छन् ।
बिहीबारदेखि लगातार देशभर वर्षा भइरहेको छ । अविरल वर्षाका कारण मानवीय क्षति बढ्न सक्ने जनाउँदै सरकारले उद्धार र राहतका कामलाई प्रभावकारी बनाउने जनाइरहेका बेला प्रतिपक्षी दलका नेता प्रचण्डले जनताको दुःखमा हातेमालो गर्न आफ्ना नेता कार्यकर्तालाई भनेका हुन् ।