९ भाद्र २०८३, मंगलबार | Wed Aug 26 2026

बिर्तामोड नगर अस्पतालमा वर्थिङ सेन्टर प्रभावकारी



बिर्तामोड-बिर्तामोड नगर अस्पतालमा स्थापना गरिएको बर्थिङ सेन्टरको प्रभावकारिता बढ्दै गएको छ । प्रसूतिका लागि आउने महिलाको सङ्ख्याले बर्थिङ सेन्टरको प्रभावकारिता बढेको देखाएको हो ।

नगर अस्पतालका अनुसार गत आर्थिक वर्षमा ७० जना महिलाले बर्थिङ सेन्टरमा बच्चा जन्माएका छन् । नगर अस्पतालमा भरपर्दो सेवा उपलब्ध रहेकाले प्रसूतिका लागि बर्थिङ सेन्टरमा आउने महिलाको सङ्ख्या उल्लेख रहेको हो ।

नगर अस्पतालकी सिनियर अनमी निरीक्षक दीपा श्रेष्ठ शल्यक्रिया बिना ८३ जना महिलाले प्रसूति गराएको बताउँछिन् । गत आर्थिक वर्षमा ७० जना र चालु आर्थिक वर्षको भदौ ३ सम्म १३ जना महिलाले विना शल्यक्रिया प्रसूति गराएका हुन् ।

‘अस्पतालप्रति सेवाग्राहीको विश्वसनियता बढेकाले बर्थिङ सेन्टरको प्रभावकारितामा वृद्धि भएको महसुस गरेका छौँ’, अनमी निरीक्षक श्रेष्ठले भनिन्, ‘चौबीसै घण्टा उपलब्ध सेवाले समेत बर्थिङ सेन्टरको प्रभावकारिता बढाउन सहयोग पुगेको हुनसक्छ ।’

नगर अस्पतालले नर्मल डेलीभरि सेवालाई चौबीसै घण्टा उपलव्ध गराएको छ । यसका लागि आठ जना स्वास्थ्यकर्मी नियमित खटिने गरेका छन् । बर्थिङ सेन्टरमा प्रसूतिका लागि आउने महिलाले न्यानो झोलासमेत प्राप्त गर्छन् ।

सुत्केरी महिलालाई प्रदान गरिने झोलामा बच्चाको भोटो, टोपी, दौरा सुरुवाल दुई दुई थान, युरिन म्याट र आमालाई लुगा (म्याक्सी) एक थान उपलव्ध हुन्छ । नगर अस्पतालले प्रसूति सेवा लिनेलाई एक हजार रुपैयाँ पनि दिन्छ ।

सरकारी अस्पताल वा स्वास्थ्य केन्द्रमा नियमित गर्भवती जाँच गराउनेहरुको लागि आठ सय रुपैयाँ थप गरी १८ सय रुपैयाँ दिने व्यवस्था रहेको निरीक्षक श्रेष्ठले बताइन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुनिल अधिकारी अस्पतालको स्वास्थ्य सेवा फराकिलो बन्दै गएको बताउँछन् ।

डाक्टर अधिकारीका अनुसार नगर अस्पतालमा फिजिसियन, बालरोग, मनोरोग, वाथरोग, स्त्री तथा प्रसूति रोग, हार्डजोर्नी तथा नशा रोगलगायत विभिन्न रोगका विशेषज्ञको सेवा उपलव्ध रहेको छ । अस्पतालमा केहीदिन अघिमात्रै दुई जना मेडिकल अधिकृत थप गरिएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलबार ००:००  ८ : ३७ बजे