२९ बैशाख २०८२, सोमबार | Tue May 13 2025

पोखरामा रगतको चरम अभाव : आकस्मिक रक्तदानमा १३१ युनिट रगत सङ्कलन



पोखरा-रक्तदानका कार्यक्रम नभएपछि पोखरामा रगतको चरम अभाव भएको छ । माग अनुसार रगत उपलब्ध नभएपछि जटिल स्वास्थ्य अवस्था भएका बिरामी थप समस्यामा परेका छन् ।

नियमित कार्यतालिका अनुसार रक्तदान नभएकाले रगतको अभाव खड्किएको नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्त सञ्चार केन्द्र पोखराले जनाएको छ । केन्द्रले रक्तदानका लागि आह्वान समेत गरेको छ ।

चरम अभाव भएपछि रक्तसञ्चार केन्द्रले सोमबार पोखराको महेन्द्र पुलमा बिहान ७ बजेदेखि ५ बजेसम्म आकस्मिक रक्तदान गरेको थियो । उक्त कार्यक्रममा १३१ युनिट रगत सङ्कलन भएको केन्द्रका प्रमुख अर्जुन ज्ञवालीले बताए ।

डेङ्गु संक्रमण बढेकाले पनि पोखरामा रगतको माग बढ्दै गएको छ । प्लेटलेट रिच प्लाज्माको माग बढिरहेकाले फ्रेस रगतका लागि दैनिक रगत सङ्कलन गर्नुपर्ने अवस्था छ ।

गण्डकी प्रदेशको राजधानी पोखरामा दैनिक ७० देखि ८० युनिट रगत आवश्यक पर्छ । प्रदेश बाहिरका अस्पतालबाट समेत बिरामी रेफर भएर आउने भएकाले रगतको माग अझै बढी हुने गरेको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलबार ००:००  ९ : ०१ बजे