झापा-बालबालिकामा क्यान्सर रोगको संक्रमण बढ्दै गएको छ । वर्षेनि क्यान्सर पीडित बालबालिकाको सङ्ख्या थपिँदै गएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।
स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालमा हरेक वर्ष करिब १५ सय बालबालिकामा क्यान्सरको संक्रमण देखिने गरेको छ ।
बालबालिकामा क्यान्सर हुने यकिन कारण पत्ता लाग्न सकेको छैन । तर, डिएनएमा देखिएकाे ड्यामेज थुप्रिदै जाँदा बालबालिकामा क्यान्सरको संक्रमण बढेको चिकित्सक बताउँछन् ।
बाल क्यान्सर रोग विशेषज्ञ डाक्टर विष्णुराज गिरीले एउटा अन्तर्वार्तामा भनेका छन्, ‘बालबालिकालाई लामो समयसम्म ज्वरो आयो र त्यसको कारण भेटिएन भने त्यो क्यान्सरको लक्षण हुनसक्छ ।’
शरीरमा रगतको कमी भएर सेतो, पहेँलो वा कमजोर हुने जस्ता लक्षण देखिने डा. गिरीले अन्तर्वार्तामा बताएका छन् । बालबालिकाको आँखाको नानीमा सेतो फूल देखियो भने आँखाको क्यान्सर हुनसक्ने डाक्टर गिरीको अनुभव छ ।














