२ असार २०८२, सोमबार | Tue Jun 17 2025

पाइपलाइन मार्फत पेट्रोल र मट्टीतेल आयात गर्ने तयारी



काठमाडौँ– नेपाल आयल निगमले भारतबाट पाइपलाइनमार्फत पेट्रोल र मट्टीतेल आयात गर्ने तयारी गरेको छ । भारतको मोतिहारीबाट नेपालको बारा अमलेखगञ्जसम्म पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात गर्न लागिएको हो ।

पाइपलाइन निर्माणका लागि चाहिने आवश्यक संरचनाको काम पूरा भई अहिले परीक्षणको कार्य सुरु भएको आयल निगमले जनाएको छ ।

आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात गरी आन्तरिक बजारमा ढुवानीका लागि लैजाने अवस्था सिर्जना भएको बताए ।

कार्यकारी निर्देशक भट्टका अनुसार पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात गर्दा प्रति लिटर पेट्रोलमा औसत साढे २ रुपैयाँ बराबर ढुवानी खर्च कटौती हुनेछ ।

यसअघि निगमले २०७६ देखि पाइपलाइनबाट डिजेल आयात गरिरहेको छ । परियोजनाको दोस्रो चरण अन्तर्गत पेट्रोल र मट्टीतेल आयातका लागि पाइपलाइनको नयाँ संरचना निर्माण गरिएको हो ।

आयल निगमले पाइपलाइनको अर्को परियोजना अगाडि बढाउने पनि तयारी गरिरहेको छ । भारत पश्चिम बङ्गालको सिलगुडीदेखि झापाको चारआलीसम्म पाइपलाइन विस्तार गर्ने गरी निगमले प्रारम्भिक तयारीको काम थालेको हो ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार ००:००  ९ : ५६ बजे