बिर्तामोड-सेवाग्राहीसँग घुस लिएको आरोपमा विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले नियन्त्रणमा लिएर प्रहरीमा बुझाइएका बुद्धशान्ति गाउँपालिका वडा नम्वर २ का वडाध्यक्ष डिल्लीप्रसाद ओली निलम्बित भएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि वडाध्यक्ष ओलीलाई पदबाट निलम्बन गरिएको हो । अख्तियारले पत्र लेखेर वडाध्यक्ष ओलीलाई तत्काल निलम्बन गर्न बुद्धशान्ति गाउँपालिकालाई भनेको थियो ।
जग्गाको लिखत प्रमाणित गर्ने सन्दर्भमा सेवाग्राही अमरनाथ चौहानसँग घुस लिएपछि विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले झापाको बिर्तामोडबाट नियन्त्रणमा लिएर वडाध्यक्ष ओलीलाई प्रहरीको जिम्मा लगाएका थिए ।