८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

बिर्तामोडमा लीला अनमोलको ‘अन्तिम कुमारी रात’ लोकार्पण



बिर्तामोड-चर्चित झापाली साहित्य प्रतिभा लीला अनमोलको कविता संग्रह ‘अन्तिम कुमारी रात’ को शनिबार झापाको बिर्तामोडमा लोकार्पण गरिएको छ । यो कविता संग्रह गत महिना काठमाडौँमा विमोचन गरिएको थियो ।

साहित्यकार मनु मन्जिलले प्रमुख अतिथिका रूपमा अनमोलको कविता संग्रहको गृह विमोचन गरेका हुन् । कार्यक्रममा बोल्दै उनले एउटा राष्ट्रिय प्रतिभाका रूपमा अनमोलले आफ्नो परिचय स्थापित गरेको बताए ।

साहित्यकार अनमोलले झापाली विशिष्ट साहित्यिक प्रतिभाहरूले आफूलाई निरन्तर लेखन कर्ममा प्रारम्भदेखि नै प्रेरित गरेको बताउँदै त्यसैको परिणाम स्वरूप कविता संग्रह जन्मिएको बताइन् । अनमोलको यो तेस्रो कृति हो ।

नेपाली लेखक संघ झापाको आयोजना र किराँत मुन्धुम प्रतिष्ठान दमकको सह आयोजनामा कविता संग्रह लोकार्पण कार्यक्रम भएको हो । कार्यक्रममा कविता संग्रहमाथि साहित्यकार टीका आत्रेय र प्राज्ञ मुनाराज शेर्माले समीक्षा गरेका छन् ।

नेपाली लेखक सङ्घ झापाका अध्यक्ष कुमार भट्टराईको अध्यक्षतामा आयोजित कार्यक्रममा झापाका अग्रज पत्रकार चन्द्र भण्डारी, साहित्यकारहरु कृष्ण बराल, पुण्यप्रसाद खरेल, गीतकार शिवशंकर थापा लगायतले अनमोलको लेखन शैलीको प्रशंसा गर्दै बधाई तथा शुभकामना दिएका छन् ।

कार्यक्रममा पूर्वी नेपालका बाहेक काठमाडौँ र छिमेकी मुलुक भारतबाट समेत साहित्यकारहरूको सहभागिता रहेको थियो । कार्यक्रममा साहित्यकार केशव आचार्यले स्वागत गरेका थिए ।

पहिलो चरणको कार्यक्रम साङसेन पन्धाकले सहजीकरण गरेका थिए। कार्यक्रमको दोस्रो चरणमा गजलकार बाबु त्रिपाठीले एकल गजल प्रस्तुत गरे । गजलकार विवश बलिभद्र कोइराला र सुनिता तामाङले पहिलो र दोस्रो चरणको कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आइतबार ००:००  ८ : २९ बजे