१० जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025

कोशी प्रदेशका १४ वटै जिल्लामा काङ्ग्रेस एमालेको दुई दलीय संयन्त्र बनाउने निर्णय



झापा-सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले जिल्ला तहसम्म दुई दलीय संयन्त्र बनाउने भएका छन् । दुई दलीय संयन्त्रको विराटनगरमा बसेको बैठकले प्रदेशका १४ वटै जिल्लामा संयन्त्र बनाउने निर्णय गरेको हो ।

बैठकपछि एमाले कोशी प्रदेशका इन्चार्ज शेरधन राईले आज पत्रकार सम्मेलन गरी एक साताभित्र कोशी प्रदेशका सबै जिल्लामा दुई दलीय संयन्त्र निर्माण हुने बताए ।

संयन्त्रमा नेपाली काङ्ग्रेस र एमालेका जिल्ला तहका तीन तीन जना नेताहरू रहने जनाइएको छ । सार्वजनिक सेवालाई प्रभावकारी बनाउँदै तीनै तहका सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउने गरी संयन्त्र बनाइन लागेको हो ।

जिल्ला तहमा निर्माण हुने संयन्त्रले स्थानीय तहका समन्वय गर्नेछ । नेपाली कांग्रेस कोशी प्रदेशका अध्यक्ष उद्धव थापाले दुई दलीय प्रदेश संयन्त्रको बैठकको अध्यक्षता पालैपालो गर्ने निर्णय भएको बताए ।

को को छन् कोशी प्रदेशको संयन्त्रमा ?

केन्द्रमा दुई दलबीच आपसी सहमतिका आधारमा राजनीतिक संयन्त्र निर्माण भएपछि प्रादेशिक तहमा पनि त्यस किसिमका संयन्त्र बनेका छन् ।

सत्तारुढ दलका नेताहरूले सरकारका काम कारबाहीलाई प्रभावकारी र जनमुखी बनाउन राजनीतिक संयन्त्र बनाएका हुन् ।

सत्तारुढ दुई दलको सहभागितामा बनेको संयन्त्रमा कोशी प्रदेशमा एमालेका तर्फबाट पूर्व मुख्यमन्त्री एवम् एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राई सहभागी छन् ।

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की र नेकपा एमाले प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडा दुई दलीय संयन्त्रमा रहेका छन् ।

नेपाली कांग्रेसका तर्फबाट पूर्व मुख्यमन्त्री एवम् कोशी प्रदेश सरकारका सभापति उद्धव थापा संयन्त्रमा सहभागी छन् । कोशी प्रदेश सरकारमा मन्त्री रहेका भूपेन्द्र राईलाई पनि संयन्त्रमा राखिएको छ । उनी कांग्रेस कोशी प्रदेशका महामन्त्री समेत हुन् ।

संयन्त्रको बैठकले नेपाली कांग्रेसका तर्फबाट कोशी प्रदेश कार्यसमितिका महामन्त्री उमेश थापालाई संयन्त्रको सदस्यमा थप गर्ने समेत निर्णय गरेको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार ००:००  ८ : ५३ बजे