झापा-भारतले नेपालबाट थप २५१ मेगावाट बिजुली खरिद गर्ने भएको छ । नेपालका विभिन्न १२ जलविद्युत परियोजनाबाट भारतले बिजुली खरिद गर्ने तयारी गरेको हो ।
नेपालस्थित भारतीय दूतावासका अनुसार अन्तरदेशीय व्यापारका लागि यसअघि भारतले १६ वटा आयोजनाबाट ६९० मेगावाट बिजुली खरिद गर्दै आएको थियो ।
थप निर्यातका लागि भएको स्वीकृतिसँगै अब भारतले नेपालबाट ९४१ मेगावाट विद्युत् खरिद गर्ने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार १२५ मेगावाट विद्युत् बिहारलाई र १२५ दशमलव ८९ मेगावाट विद्युत् हरियाणा राज्यका वितरण कम्पनीलाई बिक्री गरिनेछ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतीय पक्षबाट स्वीकृत पाएसँगै अब छिट्टै बिहार र हरियाणामा थप विद्युत् निर्यात सुरु गरिने बताए ।
यसैवर्ष मध्यकालीन सम्झौता अनुसार थप ४०० मेगावाट विद्युत् निर्यात अनुमति पाउने चरणमा रहेको निर्देशक घिसिङ बताउँछन् । चालु आर्थिक वर्षमा २५ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात गर्ने प्राधिकरणको लक्ष्य छ ।