५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026

यू १९ क्रिकेट विश्वकपमा खेल्ने नेपाली टीमको घोषणा



काठमाडौँ- नेपाल क्रिकेट संघ क्यानले महिला यू १९ क्रिकेट विश्वकपमा खेल्ने नेपाली टीमको घोषणा गरेको छ । क्यानले विश्वकप खेल्न पूजा महतोको कप्तानीमा १५ सदस्यीय टीमको घोषणा गरेको हो ।

नेपाली टीममा पूजा महतो कप्तान, सोनी पाख्रिन उपकप्तान, साना प्रविन, ज्योत्सनिका मारसिनी, कुसुम गोदार, अलिशाकुमारी यादव, सावित्री धामी, क्रिश्मा गुरुङ, त्रिसना विक, किरणकुमारी कुनवार, रिया शर्मा, रचना चौधरी, सीमा केसी, स्नेहा महरा र अनु कडायत रहेका छन् ।

विश्वकपमा नेपाल समूह डी मा रहेको छ । समूह डी मा नेपालसहित अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्ड रहेका छन् । नेपालले पहिलो खेल जनवरी १८ मा बंगलादेशसँग खेल्दैछ भने दोस्रो खेल जनवरी २० मा स्कटल्याण्डसँग खेल्दैछ । त्यस्तै जनवरी २२ मा अस्ट्रेलियासँग खेल्ने तालिका रहेको छ ।

मलेसियामा जनवरी १८ देखि शुरु हुने विश्वकपमा १६ देशले भाग लिँदैछन् । जसमा नेपालसहित आयोजक मलेसिया, अस्ट्रेलिया, बंगलादेश, इङल्याण्ड, भारत, आयरल्याण्ड, न्यूजील्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, वेस्ट इन्डिज, नाइजेरिया, सामोआ, स्कटल्याण्ड र अमेरिका रहेका छन् ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार ००:००  ८ : २७ बजे