अर्जुनधारा–मेचीनगर नगरपालिका चौथो खुदुनाबारी गोल्डकपको फाइनल प्रवेश गरेको छ । सोमवार भएको अन्तिम सेमिफाइनल खेलमा भद्रपुर नगरपालिकालाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै मेचीनगरले उपाधि भीडन्त पक्का गरेको हो ।
मेचीनगरलाई सहजै जित दिलाउन सनम भुजेलले ह्याट्रिक गरेका छन् । ३४ औं मिनेटमा पहिलो गोल गरेका भुजेलले ४० औं मिनेटमा दोस्रो र ६९ औं मिनेटमा तेस्रो गोल गरेका थिए ।
खेलमा मेचीनगरका लागि पहिलो गोल सरोज कार्कीले गरेका थिए । उनले खेलको ३० औं मिनेटमा गोल गर्दै टिमलाई सुरुआती अग्रता दिलाए । त्यस्तै मेचीनगरका लागि लक्षु थापाले ५४ औं मिनेटमा थप एक गोल गरे ।
दोस्रो हाफको अतिरिक्त समयमा भद्रपुरका गोल रक्षक देव लिम्बूले फल्ड गरेपछि पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै कप्तान खमिर गिल्सन कन्दङवाले थप एक गोल गर्दा मेचीनगर ६–१को फराकिलो अन्तरले बिजयी बनेको हो ।
भद्रपुरका लागि कर्ण लिम्बूले दोस्रो हाफको अतिरिक्त समयमा एक गोल फर्काएका थिए । पहिलो हाफको ३० मिनेटपछि दवावमा परेको भद्रपुरले अन्य स्कोर गर्न नसक्दा हार व्यहोर्नु परेको छ ।
खेलमा मेचीनगरका सनम भुजेल म्यान अफ दि म्याच चुनीए । उनले नगद ५ हजार र ट्रफी पुरस्कार पाए । उनलाई कोशी प्रदेशका पूर्व मुख्यमन्त्री उद्धव थापा, प्रतियोगिताका संयोजक सीताराम भट्टराई, मेचीनगरका मेयर गोपालचन्द्र बुढाथोकी, उपमेयर मीना उप्रेती, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, अर्जुनधारा नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमाल लगायतले प्रदान गरे ।
खेलको विजेताले चौंथो खुदुनाबारी गोल्डकपको उपाधिका लागि मंसीर ५ गते शिवसताक्षी नगरपालिकासँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ । आइतबार भएको पहिलो सेमिफाइनल खेलमा बिर्तामोड नगरपालिकालाई २–१ गोल अन्तरले पराजित गर्दै शिवसताक्षीले फाइनलमा स्थान सुरक्षित गरेको हो ।
प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार २ सय ११ रुपैयाँ र उपविजेताले नगद ५५ हजार ६ सय ५५ रुपैयाँसहित ट्रफी तथा मेडल पुरस्कार पाउने छ ।
प्रतियोगिताको बेस्ट स्कोरर, बेष्ट डिफेण्डर, बेष्ट कोच, बेष्ट फरवार्ड, बेष्ट गोलरक्षकले जनही ७ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।
गोल्डकपलाई अर्जुनधारा नगरपालिकाको १, २ र ३ नम्बर वडाले संयुक्त रुपमा आयोजना गरेको हो । फाइनल खेल दिउँसो २ बजे सुरु हुने गोल्डकपको समापन समारोह भने मध्यन्ह १२ बजेबाट सुरु हुने आयोजकले बताएको छ ।


















