५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

बिर्तामोडमा हात्तीपाइले रोगविरुद्द औषधि खुवाउने अभियान सुरु



झापा- बिर्तामोड नगरपालिकामा हात्तीपाइले रोग विरुद्दको औषधि खुवाउने अभियान सुरु भएको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईले आइतवार औषधि खाएर अभियानको शुभारम्भ गरेकी छन् ।

नगर प्रमुख प्रसाईले नगरवासी सबैलाई औषधि अनिवार्य सेवन गर्न आग्रह गरेकी छन् । कार्यक्रममा उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा, कार्यपालिका सदस्य लगायत विभिन्न शाखाका कर्मचारीहरुले औषधि सेवन गरेका छन् ।

बिर्तामोडमा औषधि खुवाउने अभियानका लागि स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयम्सेविका गरी १ सय ३० जना परिचालन गरिएको छ । उनीहरुले घर घरमा पुगेर औषधि खुवाउने छन् । बिर्तामोडका ८ वटा अस्पतालहरुमा पनि केन्द्र राखिएको छ ।

बिर्तामोड नगर अस्पताल, बीएण्डसी अस्पताल, मनमोहन अस्पताल, कनकाई अस्पताल, विर्तासिटी अस्पताल, मेची आँखा अस्पताल र दृष्टि आँखा अस्पताललाई केन्द्र ताृकिएको हो ।

इलाम वस स्टेण्डमा केयर फास्ट फार्मेसी अगाडि, शनिश्चरे वस स्टेण्ड, पश्चिम वस स्टेण्ड र भद्रपुर वस स्टेण्ड अगाडि पनि औषधि सेवन केन्द्र राखिएको नगरका स्वास्थ्य शाखा प्रमुख राजिव विष्टले बताए ।

बिर्तामोड नगरपालिकामा पाँच जना हात्ती पाइले रोगबाट संक्रमित छन् । हात्ती पाइले रोग नियन्त्रणका लागि औषधि खुवाउने यो अन्तिम पटकको अभियान हो । कोशी प्रदेशका १४ जिल्लामध्ये झापामा हात्ती पाइलेको समस्या छ ।

झापाका १५ वटै पालिकाको एक सय ३१ वडामा नौ लाख ६१ हजार आठ सय ६१ जनालाई वैशाख १६ देखि ३० गतेसम्ममा औषधी खुवाउने अभियान सञ्चालन गरिने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाराकोटीले बताए ।

कोशी प्रदेशका झापाबाहेकका १३ जिल्लामा हात्तीपाइले निवारण भइसकेको छ । हाल झापामा २ सय ८० जना भन्दाबढी रोगी पहिचान भएका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार ००:००  ४ : ११ बजे