१० जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025

चार प्रतिशतले बढ्यो धानको उत्पादन : मधेस प्रदेश पहिलो



झापा-बाढी पहिराे र अविरल वर्षाका कारण क्षति पुगे पनि यसवर्ष धानको उत्पादन बढेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ । सबैभन्दा धेरै मधेस प्रदेशमा धान फलेको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा यसवर्ष चार प्रतिशतले धानको उत्पादन बढेको मन्त्रालयले जनाएको हो । प्रवक्ता डा. मनिता जोशीले समयमा वर्षा हुँदा धानको उत्पादन बढेको बताइन् ।

मन्त्रालयका अनुसार यसवर्ष धानको उत्पादन ४ दशमलव ०४ प्रतिशतले बढेर ५९ लाख ५५ हजार चार सय ७६ मेट्रिकटन पुगेको छ । अघिल्लो आर्थिक वर्षमा ५७ लाख २४ हजार २३४ मेट्रिकटन धान उत्पादन भएको थियो ।

प्रवक्ता डा जोशीले यसवर्ष धानको औसत उत्पादकत्व प्रतिहेक्टर ४ दशमलव १९ मेट्रिक टन पुगेको बताइन् । बाढी पहिरोका कारण केही प्रदेशमा धानको उत्पादन घटे पनि समग्रमा उत्पादन राम्रो छ ।

मन्त्रालयका अनुसार यस वर्ष कोशी मधेश लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा धानको उत्पादन बढेको छ । बागमती, गण्डकी र कर्णाली प्रदेशमा अपेक्षाअनुसार उत्पादन नभएको मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका अनुसार कोशी प्रदेशमा ३ लाख २९ हजार २१२ हेक्टर क्षेत्रफलमा १४ लाख ६६ हजार ५१८ मेट्रिकटन धान उत्पादन भएको छ । मधेस प्रदेशमा १४ लाख ८० हजार ८३० मेट्रिक टन धान उत्पादन भएको हो ।

गत असोज महिनामा आएको बाढीपहिरोका कारण २० जिल्लाको धानबालीमा क्षति पुगेको थियो । ५८ हजार ४७६ हेक्टर क्षेत्रफलमा लगाएको धानबालीमा क्षति हुँदा ३ अर्ब ५० करोड रुपैयाँ बराबरको नोक्सानी भएको जनाइएको छ ।

प्रकाशित मिति : २० पुस २०८१, शनिबार ००:००  ८ : ४३ बजे