बिर्तामोड-नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोले संघीयता कार्यान्वयनमा ठूला दलका तीन नेता बाधक भएको गम्भीर आरोप लगाएका छन् ।
‘नेपालमा संघीयतामाथि खतरा छ भने तीन ठूला दलका नेताहरूबाट मात्रै छ’, प्रेस सेन्टर झापाले बिर्तामोडमा सोमबार आयोजना गरेको पुरस्कार वितरण समारोहमा नेता आङ्बोले भने, ‘प्रचण्ड, केपी ओली र शेरबहादुर देउवाबाटै संघीयता खतरामा छ।’
एकले अर्कोलाई देखाउने र दोषारोपण गर्ने परिपाटी बढेको जनाउँदै प्रदेश सरकारका पूर्व अर्थमन्त्री समेत रहेका नेता आङ्बोले संविधान कार्यान्वयनमा देखिएका चुनौती सामना गर्दै लैजानुपर्ने बताए ।
दुई ठूला दल मिलेर सरकार गठन हुनलाई स्वभाविक रुपमा लिनुपर्ने बताउँदै उनले अब पनि समस्याको समाधान नभए देश झन् समस्यामा पर्ने भन्दै चिन्ता व्यक्त गरे ।
राजावादी लगायतका दलहरूलाई देखाएर संघीयता खतरामा पर्यो भन्नु गलत भएको उनको टिप्पणी छ ।















