९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026

वीरता लेडी जेसीजकाे आँखा शिविरमा ३९० जनाकाे आँखा जाँच



झापा-मेची आँखा अस्पतालसँगको प्राविधिक सहकार्यमा वीरता लेडी जेसीजले आयोजना गरेको निःशुल्क आँखा शिविरमा ३९० जनाले आँखा जाँच गराएका छन् ।

अर्जुनधारा-६ स्थित गरमकाली मन्दिरमा शनिबार आयोजित शिविरबाट स्थानीयले लाभ लिएका हुन् । शिविरमा आँखा जाँच गराएकामध्ये नौ जनामा मोतिया बिन्दुको सङ्क्रमण देखिएको छ ।

मोतियाबिन्दु देखिएका बिरामीको मेची आँखा अस्पतालमा निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाइएको वीरता लेडी जेसीजकी अध्यक्ष मेनुका ओलीले बताइन् ।

आँखा जाँचका लागि आएकाहरूले चश्मा र औषधि निःशुल्क प्राप्त गरेका छन् । अर्जुनधारा ६ का वडाध्यक्ष हरिश्चन्द्र बाँस्तोलाको प्रमुख आतिथ्यमा आँखा शिविर भएको हो ।

शिविरमा बिहानी टोल सुधार समितिका अध्यक्ष गोपाल चुडाल, लालीगुराँस महिला समूहकी अध्यक्ष मीना चुडाल, आँखा अस्पतालका नेत्र सहायक निरज दाहाल लगायतको आतिथ्य थियो ।

लेडी जेसीजकी पूर्व अध्यक्ष संगीता चिमरियाले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेकी थिइन् ।

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार ००:००  ८ : ४८ बजे