बिर्तामोड– झापाको बिर्तामोड नगरपालिकाले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सिलाई मेसिन वितरण गरेको छ ।
नगरपालिकाको तर्फबाट आइतबार आठ जना उद्यमशील महिलालाई सिलाई मेसिन र दुई वटा समूहलाई इलेक्ट्रोनिक मेसिन वितरण गरिएको हो ।
बिर्तामोड-२ को लालीगुराँस लघु उद्यमी समूह र सृजनशील लघु उद्यमी समूहले इलेक्ट्रोनिक मेसिन पाएकाे उद्यम विकास शाखा प्रमुख चनिमाया तामाङले बताइन् ।
मेसिन वितरणपछि बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले महिलाहरूलाई आत्मनिर्भर र स्वरोजगार बन्नका लागि मेसिन प्रदान गरिएको बताइन् ।
नगर प्रमुख प्रसाईले भनिन्, ‘उद्योग स्थापना गर्न नसके पनि सीपलाई रोजगारीसँग, रोजगारीलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोडेर जीविकोपार्जन गर्न सकिन्छ ।’
आर्थिक विकास समिति संयोजक संगीता शिवाको अध्यक्षतामा आयोजित हस्तान्तरण कार्यक्रममा कार्यपालिका सदस्य तिला गौतम, निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलचन भण्डारी, वरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिना, न्युटन्स एजुकेशन एकेडेमीका प्रिन्सिपल देवेन्द्र हुमागाईं लगायतको उपस्थिति रहेको थियो ।


















