बिर्तामोड– मेचीनगर नगरपालिका बिर्तामोडमा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । कमल गाउँपालिकामाथि ३-० गोलको जित नकिाल्दै मेचीनगरले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
बिर्तामोड-३ स्थित डोमालाल राजवंशी रंगशालामा आज भएको तेस्रो क्वाटर फाइनल खेलमा पहिलो हाफमा २ र अन्तिम हाफमा १ गोल सम्भव भएको थियो ।
खेलमा सुरुवाती गोल वर्षा ओलीले मेचीनगरका लागि गरेकी थिइन् । खेलको १२ औँ मिनेटमा गोल गरेकी वर्षाले २५ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेकी हुन् ।
यसैगरी, खेलको ५१ औँ मिनेटमा नयन राईले मेचीनगरको लागि तेस्रो गोल गरिन् । खेलमा दुई गोल गरेकी वर्षा ओली प्लेयर अफ दी म्याच बनिन् । उनले नगद ५ हजारसहित ट्रफी पाइन् ।
भोलि (बिहीबार) अन्तिम क्वाटर फाइनल खेलमा शिवसताक्षी नगरपालिकाले भद्रपुर नगरपालिकाले प्रतिस्पर्धा गर्नेछ ।फागुन ५ गते हुने फाइनल खेलको विजेताले नगद ३ लाखसहित आकर्षक ट्रफी पाउने छ ।
उपविजेताले नगद १ लाख ५० हजार प्राप्त गर्नेछ । बिर्तामोड नगर खेलकुद विकास समितिले प्रतियोगिताको आयोजना गरेको हो ।
















