भद्रपुर– नेपाल पत्रकार महासंघ झापाले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्र प्रकाशन-प्रसारण गर्ने संघीय सरकारको निर्णय कार्यान्वयन नगर्न झापाका १५ वटै स्थानीय तहलाई आग्रह गरेको छ।
महासंघका अध्यक्ष एकराज गिरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले मंगलबार जिल्ला समन्वय समिति झापाका प्रमुख विश्व बराललाई ज्ञापनपत्र बुझाएको हो। जिल्ला समन्वय समितिमार्फत झापाका सबै स्थानीय तहमा ज्ञापनपत्र पठाइएको महासंघले जनाएको छ।
ज्ञापनपत्र बुझ्दै प्रमुख बरालले महासंघको माग सबै स्थानीय तहसम्म पुर्याइने बताएका थिए। महासंघले संघीय सरकारको परिपत्रका आधारमा केही स्थानीय तहले स्थानीय सञ्चारमाध्यमलाई दिँदै आएको लोककल्याणकारी विज्ञापनको भुक्तानी रोकिएको भन्दै तत्काल भुक्तानी व्यवस्था मिलाउन माग गरेको छ।
ज्ञापनपत्रमा स्थानीय विज्ञापन अनिवार्य रूपमा स्थानीय सञ्चारमाध्यममै प्रकाशन–प्रसारण गर्न, सरकारी विज्ञापन वितरणलाई पारदर्शी र समानुपातिक बनाउन, अनलाइन सञ्चारमाध्यमलाई समेत लोककल्याणकारी विज्ञापन प्रणालीमा समेट्न तथा सञ्चारसम्बन्धी नीतिगत निर्णयअघि सरोकारवालासँग परामर्श गर्नुपर्ने उल्लेख छ।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा महासंघका पूर्वअध्यक्ष चिन्तामणि दाहाल, सचिव राजु पाठक, उपाध्यक्ष सुब्रत न्यौपाने, नेपाल प्रेस युनियन झापाका उपाध्यक्ष ईश्वर अधिकारी, प्रेस चौतारी नेपाल झापाका अध्यक्ष प्रदीप परियार, जनपत्रकार संगठनका अध्यक्ष प्रवीन अधिकारीलगायतको उपस्थिति थियो।
सातबुँदे ज्ञापनपत्रको बोधार्थ नेपाल पत्रकार महासंघको केन्द्रीय समिति र कोशी प्रदेश समितिलाई समेत दिइएको महासंघले जनाएको छ।
















