४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026

जेठ १ गतेदेखि झापामा विज्ञान तथा प्रविधि प्रदर्शनी



बिर्तामोड-नेकपा एमाले विज्ञान तथा प्रविधि विभाग कोशी प्रदेशले आगामी जेठ १ गतेदेखि ३ गतेसम्म झापाको बिर्तामोडमा प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी आयोजना गर्ने भएको छ ।

कोशी प्रदेशका १४ जिल्लाका १५० विद्यालयका विद्यार्थीलाई सहभागी गराउने लक्ष्यसहित एमालेको विज्ञान तथा प्रविधि विभागले प्रदर्शनी आयोजनाको तयारी गरेको हो ।

विभागले बुधबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी प्रदर्शनीको तयारी र व्यवस्थापनका विषयमा प्रारम्भिक जानकारी दिएको छ ।

देवी माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजना हुने विज्ञान प्रदर्शनीमा उत्कृष्ट विद्यालयले ४ लाख पुरस्कार प्राप्त गर्नेछ ।पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमाले कोशी प्रदेशका इन्चार्ज शेरधन राईले पार्टीगत रुपमा पहिलोपटक नेपालमा यस प्रकारको कार्यक्रम हुन लागेको बताउनुभयो ।

विद्यार्थीलाई खोज एवम् अनुसन्धानमा प्रेरित गर्ने उद्देश्यले विभागको तर्फबाट कार्यक्रम आयोजना गरिएको हो ।तीन दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा १ लाखभन्दा बढी विद्यार्थीले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

३५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको कार्यक्रममा दोस्रो हुने विद्यालयले ३ लाख तेस्रो हुनेले २ लाख र सान्त्वना हुने विद्यालयले १ लाख पुरस्कार पाउनेछ।

२५ वटा विद्यालयलाई प्रतिभा प्रोत्साहन पुरस्कार प्रदान गरिने विभागका प्रमुख गणेश पोखरेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार ००:००  ११ : १६ बजे