काठमाडौं– डा. धवलशमशेर राणा र अभियन्ता दुर्गा प्रसाईंबीच दलको नेतृत्व र अधिकार बाँडफाँटमा सहमति जुट्न नसकेपछि प्रस्तावित ‘जय नेपाल पार्टी’ निर्वाचन आयोगमा दर्ता नहुँदै विभाजित भएको छ ।
दुवै पक्षले मिलेर नयाँ पार्टी गठन गर्ने सहमति गरेका थिए । सहमतिअनुसार राणा सभापति र प्रसाईं सर्वोच्च नेता रहने समझदारी बनेको थियो ।
तर, पार्टीको सांगठनिक अधिकार र निर्वाचनमा उम्मेदवार छनोट तथा हस्ताक्षर गर्ने अधिकारका विषयमा विवाद बढेपछि सहकार्य टुटेको हो । राणा पक्ष आजै निर्वाचन आयोगमा दल दर्ताका लागि जाने तयारीमा छ ।
प्रसाईं पक्षले भने कलंकीस्थित शिखर पार्टी प्यालेसमा छुट्टै कार्यक्रम आयोजना गरी आफ्नो धारणा सार्वजनिक गर्ने तयारी गरेको छ । प्रसाईं निकट माधव कल्पितले दुवै पक्षबीच सहमति कायम हुन नसकेपछि छुट्टै पार्टी गठनको तयारी अघि बढेको जानकारी दिए ।
कल्पितका अनुसार प्रसाईं पक्षले भदौ ५ गतेलाई पार्टी दर्ताका लागि उपयुक्त समय मानेर त्यसबेलासम्म पर्खिन प्रस्ताव गरेको थियो । तर, राणा पक्ष तत्कालै दल दर्ता गर्ने पक्षमा उभिएपछि सहमति कायम हुन सकेन ।
‘हाम्रो ध्यान गरिब निमुखा जनता बचाऔं भन्ने हो । लघुवित्त र बैंक पीडितहरू खाली खुट्टा काठमाडौं आइरहेका छन् । उनीहरूलाई पर्खौं न भनेको मान्नुभएन,’ कल्पितले भने, ‘आफैंले नेता बनाएर दल दर्ता गर्ने काममा लाग्नुभयो । हाम्रो ध्यान नागरिक बचाउन छ ।’
प्रसाईंले पनि सामाजिक सञ्जालमार्फत दुई पक्षबीच सहमति हुन नसकेको जनाउँदै आफूहरू छुट्टै पार्टी गठन गर्ने तयारीमा रहेको बताएका छन् ।
उनले गरिबीको रेखामुनि रहेका सर्वहारा, भुइँमान्छे, उत्पीडित, भूमिहीन तथा सुकुम्बासीसँगै लघुवित्त, सहकारी, बैंक र मिटरब्याजका कारण समस्यामा परेका नागरिकलाई नयाँ राजनीतिक शक्तिको केन्द्रमा राख्ने दाबी गरेका छन् ।
प्रसाईंले प्रस्तावित पार्टीलाई सबै नेपाली, जातजाति र धर्मको साझा पार्टी बनाउने दाबी गर्दै वैदिक सनातनी हिन्दु अधिराज्यसहितको राजनीतिक एजेन्डा अघि सारेका छन् ।’
पीडित, शोषित र उत्पीडित नागरिकको हक, अधिकार र न्यायका लागि पार्टी समर्पित हुने उनको भनाइ छ । यसअघि नयाँ पार्टीको विधान निर्माणका लागि संयोजक तोकिएका कल्पितले दुई दिनअघि विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगमा दल दर्ता गर्ने तयारी भइरहेको बताएका थिए ।
तर, राणा पक्षका एक नेताका अनुसार विवादको मुख्य कारण पार्टीभित्रको अधिकार बाँडफाँट बनेको हो । उनका अनुसार प्रसाईंले निर्वाचनका बेला उम्मेदवारको मनोनयन तथा आवश्यक कागजातमा सभापतिसँगै हस्ताक्षर गर्ने अधिकार मागेपछि सहमति भाँडिएको हो ।
‘निर्वाचनको बेला उम्मेदवारमा हस्ताक्षर गर्न पाउनुपर्ने माग उहाँले राख्नुभयो । सभापतिको अधिकार सबै लिन खोजेपछि सहमति जुट्न सकेन,’ राणा पक्षका ती नेताले भने ।
दल दर्ताअघि नै दुई पक्ष अलग भएपछि ‘जय नेपाल पार्टी’ गठनको प्रयास तत्कालका लागि निष्कर्षविहीन बनेको छ । राणा पक्षले तत्काल दल दर्ताको प्रक्रिया अघि बढाउने तयारी गरेको छ भने प्रसाईं पक्षले छुट्टै राजनीतिक शक्ति निर्माण गर्ने घोषणा गरेको छ ।


















